Turn on Accessibility Mode
Skip to main content Skip to main navigation Skip to website search Skip to website search
Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Baitadi

Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Baitadi

Friday, Shravan 08, 2083

Accessibility Menu

भाषा (Website Language)

हालको भाषा अङ्ग्रेजी हो । You're viewing the website in english language

नेपाली भाषामा परिवर्तन गर्नुहोस्

Font Size

Color Mode/Filter

Protanopia (for red-weakness), Deuteranopia (for green-weakness), Tritanopia (for blue-weakness). Learn more

Bandwidth

On low bandwidth mode, images and files will not load making website faster and consumes less data Low Bandwidth

Other Tools

Dedicated accessibility mode focuses on the content than on appearance, menu flatens, sliders unfold

FAQ

१. नेपाली नागरिकताको भनेको के हो ? नागरिकता किन चाहिन्छ ?

नेपालको नागरिक हो भनी राज्यले दिएको प्रमाण नेपाली नागरिकता हो । राज्यको सदस्यको रुपमा नेपाली नागरिकले मात्र नेपालको नागरिकता पाउँछ । यो राज्यले आफ्ना नागरिकलाई पहिचान गर्न, शिक्षा हासिल गर्न र व्यापार व्यवसाय गर्ने जस्ता कानूनले प्रत्याभूत गरेको आधारभूत नागरिक अधिकारहरूको उपभोग गर्ने महत्त्वपूर्ण आधार हो । घर जग्गा लगायत सम्पत्तिको प्राप्ति र हस्तान्तरण, राहदानी प्राप्ति, मताधिकार, बैंङ्क खाता जस्ता विभिन्न काममा नागरिकता अनिवार्य हुन्छ ।

२. नेपालमा नागरिकता कति किसिमका छन् ?

नेपालको संविधान र ऐन कानून अनुसार ४ किसिमका नागरिकता रहेको छ । जसमा वंशज, जन्मको आधार, अङ्गीकृत र सम्मानार्थ नागरिकता हुन् ।

३. नागरिकता प्रमाणपत्रको हिफाजत कसरी गर्ने ? खोल हाल्ने की लेमिनेशन गर्ने ?

नागरिकता जस्तो महत्वपूर्ण एवं संवेदनशील कागजातलाई हिफाजतसाथ प्रयोग गर्ने र राख्ने गर्नु पर्दछ । अरुको नागरिकता प्रयोग गरेर गैरकानूनी काम गर्न सक्ने हुँदा आफ्नो नागरिकता अरुलाई प्रयोग गर्न दिनु हुँदैन । नागरिकताको कार्ड प्रिन्ट गरेको हुन्छ र यसमा लेख्न केर्ने वा कुनै संकेत गर्न हुँदैन । कार्डमा कुनै विवरण थप घट गर्नु नहुने हुँदा यसलाई प्लाष्टिकको खोलमा राख्न सकिन्छ वा लेमिनेशन गर्न सकिन्छ । तर नयाँ कार्डमा मसि सेट हुन केही समय लाग्ने भएको हुँदा नागरिकता प्राप्त गरेको कम्तिमा २ हप्ता पछि मात्र लेमिनेशन गर्दा उपयुक्त हुन्छ। त्यस बेला सम्म कागजमा बेरेर सुरक्षित राख्नु राम्रो हुन्छ ।  

४. नागरिकता कहिले बनाउने ? कति उमेर चाहिन्छ ?

नागरिकता बनाउन आउने दिन १६ बर्ष उमेर पूरा भएको व्यक्तिले आफूलाई आवश्यक परेपछि नागरिकता बनाउन सक्दछ । सार्वजनिक बिदा नपरेको, कार्यालय खुलेको जुनसुकै दिन पनि नागरिकता बनाउन सकिन्छ ।

 

 

५. कागजपत्र सक्कलै पेश गर्नुपर्ने हो कि फोटोकपी मात्रले पनि हुन्छ ?

नागरिकता बनाउन चाहिने सवै कागजातहरुको फोटोकपी आवेदनसँगै पेश गर्नुपर्छ । पेश गरिएका कागजपत्रहरू सक्कल हेरेर मात्र आवेदन रुजु गरिने हुँदा सबै कागजपत्रको सक्कल प्रति पनि साथमै लिइ आउनुपर्छ । रुजु गरे पश्चात सवै कागजपत्रका सक्कल भने फिर्ता पाइन्छ ।

६. नागरिकता बनाउन कस्तो फोटो चाहिन्छ ?

नागरिकता बनाउने ब्यक्तिको मात्र फोटो चाहिन्छ। अभिलेखमा १, प्रमाणपत्रमा १ र आवेदन (अनुसूची) मा १ गरी जम्मा ३ प्रति एकै खालको फोटो चाहिन्छ । फोटोको आकार प्रकार २.५x३ से.मी., रातो पृष्ठभूमी नभएको, फोटोमा बोर्डर नभएको, दुवै कान सहित प्रष्ट रुपमा मुखाकृति देखिएको, चश्मा नलगाएको, अधिक मात्रामा गरगहना वा अन्य सृङ्गारका सामान नपहिरिएको, ढाकाटेपी बाहेक अन्य टोपी नलगाएको (धार्मिक साँस्कृतिक बाहेक), रंगिन फोटो हुनुपर्दछ ।

७. नागरिकता लिन कति समय लाग्छ ?

आफू स्थायी रुपले बसोबास गरेको वडाबाट सिफारिश भइ आएको र रित पुगेको आवेदन भएमा नागरिकता बनाउन खासै समय लाग्दैन । आवेदन बुझाएको एक घण्टा भित्रै नया नागरिकता प्राप्त गर्न सकिन्छ ।

८. नागरिकता लिने प्रकृया के हुन्छ ?

सर्बप्रथम नागरिकताको अनुसूची फारममा सवै विवरण ठिकसँग भर्ने र फोटो टाँस गरी आफ्नो स्थायी ठेगाना भएको वडा कार्यालयमा फारम बुझाउनु पर्छ । वडाले अनुसूची १ फारममा सिफारिश गर्दछ । यस्तो फारममा वडाबाट  सिफारिश गराउँदा फोटोमा समेत सम्बन्धित वडा कार्यालयबाट हस्ताक्षर गरी प्रमाणित गराउनुपर्ने हुन्छ । यसपछि  आवश्यक सबै कागजात संलग्न राखी नया नागरिकता फाँट कोठा नं ५ मा पेश गर्नु पर्छ । कागजात सबै दुरुस्त भए नभएको फाँटबाट सक्कल अनुसार रुजु गरिन्छ । यस पछि सनाखन गर्नेले र नागरिकता लिनेले सहिछाप गरिदिनु पर्दछ । त्यसपछि नागरिकताको कार्ड तयार भई अधिकार प्राप्त अधिकारी (प्रजिअ/सप्रजिअ/प्र.अ.)‌ बाट हस्ताक्षर हुन्छ। अन्त्यमा, नागरिकताको अभिलेखमा नागरिकता प्राप्त गर्ने व्यक्तिले ल्याप्चे सहिछाप गर्ने र प्रमाणपत्र बुझ्ने काम हुन्छ।

 

 

९. नागरिकता बनाउँन कति शुल्क लाग्दछ ?

नयाँ नागरिकता आवेदन (अनुसूची) का लागि रु. १०।- को टिकट र नागरिकता प्रतिलिपिका लागि रु. १३ को टिकट टाँस्ने बाहेक नागरिकता प्रमाणपत्र बनाउन कुनै किसिमको सेवा शुल्क र दस्तुर लाग्दैन । तर सिफारिश गर्ने गाँउपालिका/नगरपालिका वा वडामा भने तोके अनुसार सिफारिश दस्तुर लाग्न सक्दछ ।

१०. नेपाली नागरिकता बनाउन कहाँ जाने ?

आफ्नो स्थायी ठेगाना भएकै जिल्लाको जिल्ला प्रशासन कार्यालय वा ईलाका प्रशासन कार्यालयबाट मात्र नागरिकता प्रमाणपत्र बनाउन सकिन्छ । बैतडी जिल्लाका पूर्चौडी नगरपालिकाका बासिन्दाहरूले भने इलाका प्रशासन कार्यालय, पूर्चौडीबाट नागरिकता सम्बन्धी सबै सेवा प्राप्त गर्न सक्दछन्।

जिल्ला प्रशासन कार्यालयबाट समय समयमा नागरिकता टोली, घुम्ति शिविर समेत खटिने गरेको हुन्छ । आफ्नो स्थायी ठेगाना भएकै ठाँउमा यस्तो टोली खटिएमा टोलीबाट पनि नागरिकता बनाउन सकिन्छ ।

अन्यत्र जिल्लामा स्थायी ठेगाना भएका तर हाल बैतडी जिल्लामा कार्यरत सरकारी कर्मचारीको परिवार भएमा बैतडी जिल्लाबाटै पनि नागरिकता बनाउन सकिन्छ ।

यस पूर्व विभिन्न समयमा मजिष्ट्रेट, बडाहाकिम, अञ्चलाधीश कार्यालय, विशेष अधिकृत, प्र.जि.अ. को कार्यालय, जिल्ला कार्यालय वाट नागरिकता जारी हुने गरेको थियो । तर हाल भने जिल्ला प्रशासन कार्यालय र मातहत कार्यालयबाट मात्र नागरिकता जारी हुन्छ ।

बैतडी जिल्ला स्थायी ठेगाना भएका वा अन्यत्रबाट यस जिल्लामा बसाइ सराई गरी आएका वा विवाह गरी यस जिल्लामा आएका महिलाले समेत आवश्यक कागजात पेश गरी बैतडी जिल्लाबाट नागरिकता लिन सक्दछन् ।

११. नागरिकता बनाउन को-को आउनु पर्छ ?

नागरिकता बनाउन निवेदक स्वंयम र निजलाई सनाखत गर्ने व्यक्ति जस्तै बाबु, आमा, दाजु, दिदी वा एकाघरका परिवारका सदस्यहरु अनिवार्य रुपमा कार्यालयमै उपस्थित हुनुपर्छ ।

 

१२. सनाखत के हो ? सनाखत कस्ले गर्नुपर्छ ? कहाँ र कसरी गर्नु पर्छ ?

नागरिकताको निवेदन दिने मानिस मेरो तीनपुस्ता भित्रको नाताको व्यक्ति हो, निजलाई नेपाली नागरिकता दिएमा पछिसम्म फरक पर्ने छैन । फरक परेमा कानून बमोजिम सहुँला बुझाउँला भनी कार्यालयमा उपस्थित भई सहिछाप गर्ने काम सनाखत हो ।

सनाखतको लागि एकाघरका वा नाता खुलेको अभिभावक हुनुपर्दछ । सम्भव भएसम्म बाबु वा आमाले सनाखत गर्नु पर्दछ । सो नभएमा तीन पुस्ता भित्रका बंशज खुलेका अभिभावकले सनाखत गर्न सक्दछ । आमाले सनाखत गर्ने अवस्थामा आमाको नागरिकतामा पति (निवेदकको बुबा) को नाम कायम छैन भने विवाह दर्ता प्रमाणपत्र वा विवाह प्रमाणित समेत पेश गर्नु पर्छ।

नागरिकता फाँटमा नै सम्बन्धित कर्मचारीको रोहवरमा सनाखत गरिन्छ। यस अन्तर्गत निजले भने अनुसारकै नाताको व्यक्ति हो भनी एकिन गर्नका लागि सोधखोज गर्ने र एकिन भएपछि सहिछाप गराउने काम हुन्छ ।  

१३. शैक्षिक प्रमाणपत्र र जन्मदर्तामा जन्ममिति फरक-फरक छ भने के हुन्छ ?

शैक्षिक प्रमाणपत्र र जन्मदर्तामा जन्ममिति फरक छ भने पनि नागरिकता बन्दछ । यस्तो अवस्थामा एसएलसी/एसइइ सरहको शैक्षिक प्रमाणपत्रमा उल्लिखित जन्ममिति नै मान्य हुने हुँदा नागरिकतामा सोही मिति कायम गरी नागरिकता जारी गरिन्छ ।

१४. शैक्षिक प्रमाणपत्र र जन्मदर्तामा नाम फरक-फरक छ भने के हुन्छ ?

एसएलसी/एसइइ सरहको शैक्षिक प्रमाणपत्रमा उल्लिखित अनुसारकै नाम कायम गरी नागरिकता प्रमाणपत्र बनाउनुपर्ने हुन्छ । यसका लागि सम्बन्धित वडाबाटै दुवै नाम थर गरेको व्यक्ति एकै व्यक्ति हो भनी सिफारिश ल्याउनु पर्दछ ।

१५. कस्ता व्यक्तिले वंशजको आधारमा नागरिकता प्राप्त गर्दछन ?

कुनै व्यक्तिको जन्म हुँदा निजका बाबु वा आमा नेपालको नागरिक रहेछ भने त्यस्तो व्यक्तिले वंशजको आधारमा नागरिकता प्राप्त गर्न सक्दछ ।

 १. कस्तो अवस्थामा नागरिकताको प्रतिलिपि बनाउन पाइन्छ ?

नागरिकताको प्रमाणपत्र कुनै कारणवश च्यातिई, आगजनी भई हराएमा, पानीले भिजी नष्ट भएमा वा अन्य कुनै कारणले झुत्रो भई काम नलाग्ने भएमा जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रतिलिपि लिन सकिन्छ। यसका लागि पुरानो नागरिकताको फोटोकपी वा सो नभएमा नागरिकता नम्वर र जारी मिति खुल्ने लालपूर्जा वा अन्य कुनै सरकारी कागजात संलग्न गरी निवेदन दिनु पर्छ । निवेदनमा आफ्नो वडाको सिफारिश हुनु पर्दछ र २ प्रति फोटो आवश्यक हुन्छ । प्राप्त निवेदन अनुसार कार्यालयको अभिलेख भिडाई नागरिकताको प्रतिलिपि पाइन्छ।

२. कतिपटक सम्म नागरिकताको प्रतिलिपि लिन सकिन्छ ?

प्रतिलिपि लिनुपर्ने कारण परि लिन आएमा जति पटक पनि प्रतिलिपि बनाउन सकिन्छ । तर सामान्यतया ३ पटक भन्दा वढी प्रतिलिपि माग्न आएमा भने आवश्यकता अनुसार स्थलगत वा प्रहरी सर्जमिन बुझ्न सकिन्छ ।

३. नागरिकता प्रमाणपत्रमा नाम थर वा अन्य कुनै विवरण सच्चाउन सकिन्छ ?

नेपाली नागरिकताको प्रमाणपत्रमा रहेको थर, उमेर, वतन वा अन्य विवरणमा त्रुटी भएको भए सो को पुष्टि हुने कागज प्रमाण राखी सच्चाउन निवेदन दिनु पर्दछ ।

सच्याउने विवरणको तथ्य प्रमाणित गर्ने सार्थक आधारहरु खुलेको प्रमाण पेश गर्नुपर्दछ । यस अन्तर्गत उमेरको हकमा शैक्षिक योग्यताको प्रमाणपत्रमा उल्लिखित मिति, वतनको हकमा बसाइसराइको प्रमाणपत्र, नाम थरको हकमा – शैक्षिक योग्यताको प्रमाणपत्र लगायत प्रमाण पेश गर्नुपर्दछ ।

निजसँग भएको सबुद प्रमाण र आवश्यकता अनुसार साक्षी सर्जमिन समेत बुझी त्यस्तो विवरण सच्याई पहिले लिएको नागरिकताको प्रमाणपत्र खिची अर्को नागरिकताको प्रमाणपत्र दिन सकिन्छ।

 

 

४. महिलाले आफ्नो नागरिकतामा पतिको नाम कायम गर्न वा हटाउन कसरी सकिन्छ ?

विवाह वा सम्बन्ध विच्छेद भएकी महिलाले थर, वतन वा अन्य विवरण संशोधन गरी पहिले लिएको नागरिकताको प्रमाणपत्र खिची अर्को नागरिकताको प्रमाणपत्र लिन सक्दछन् । यसका लागि सो को तथ्य खुल्ने प्रमाण (विवाह दर्ता/सम्बन्ध विच्छेद प्रमाणपत्र) पेश गर्नुपर्दछ ।

५. नागरिकताको प्रतिलिपि वनाउन स्वंयम उपस्थित हुनुपर्छ की अरुले पनि बनाइदिन सक्दछ ?

प्रतिलिपि बनाउन निवेदक स्वंयम कार्यालयमा उपस्थित हुनुपर्छ । निजको सहिछाप गरेर मात्र प्रतिलिपि जारी हुनसक्छ ।

६. ब्यक्ति उपस्थित हुन नसक्ने अवस्था (मृत्यु भएको, विदेशमा रहेको) का व्यक्तिको नागरिकता प्रतिलिपि झिक्न मिल्छ ?

सम्बन्धित व्यक्तिको मृत्यु भैसकेको अवस्थामा सो व्यक्तिको सरोकारवाला व्यक्तिलाई आवश्यक भई प्रतिलिपि माग गर्न आएमा यो यस्तो व्यक्तिले यो मितिमा नागरिकताको प्रमाणपत्र लिएको देखिन्छ भनी कार्यालयप्रति अनुसारको सबै व्यहोरा खुलाई प्रमाणित गरि दिन सकिन्छ । तर कार्डमा प्रतिलिपि पाइदैन।

७. अन्य ब्यक्तिको नागरिकताको रेकर्ड हेर्न वा पाउन सकिन्छ की सकिदैन ?

अपराध अनुसन्धान वा न्यायीक प्रयोजनका लागि सम्बन्धित निकायको पत्रका आधारमा मात्र त्यस्ता निकायलाई माग अनुसारका व्यक्तिको नागरिकता अभिलेख उपलब्ध गराइन्छ। यस बाहेक अन्य कुनै काम वा प्रयोजनका लागि कसैले पनि अरु कसैको नागरिकताको रेकर्ड पाउन सक्दैन।

८. जिल्ला प्रशासन कार्यालय वाहेकका कार्यालयवाट पहिला जारी भएको नागरिकताको प्रतिलिपि कहाँबाट वनाउने ?

पहिले मजिष्ट्रेट, बडाहाकिम, अञ्चलाधीश कार्यालय, विशेष अधिकृत, प्र.जि.अ. को कार्यालय, जिल्ला कार्यालय तथा जिल्ला प्रशासन कार्यालयहरूबाट प्रदान गरिएको नागरिकता प्रमाणपत्रहरूको प्रतिलिपि समेत यसै कार्यालयबाट लिने हो। तर त्यस्ता रेकर्डको कार्यालय प्रति फेला नपरेको अवस्थामा पहिले लिएको नागरिकता प्रमाणपत्र खिची नयाँ नागरिकता लिँदा अपनाउनुपर्ने सवै कार्यविधि पूरा गरी नयाँ नागरिकता बनाइने छ। त्यस्तो नागरिकताको नोट खण्डमा पुरानो नागरिकताको नम्वर र अन्य विवरण समेत उल्लेख गरि दिइने छ । जसले गर्दा पूरानो नागरिकताका आधारमा गरिएका सवै कारोवार तथा कानूनी अधिकार र दायित्व नयाँ नागरिकतामा नै सर्दछ।

९. बसाइ सराइ गरी यस जिल्लामा आएको व्यक्तिले कहाँबाट नागरिकताको प्रतिलिपि बनाउने ?

अन्यत्र जिल्लाबाटै नागरिकता प्रमाणपत्र लिएको तर हाल यस जिल्लामा बसाइँ सरी आएका नागरिकले यसै जिल्लाबाट नागरिकताको प्रतिलिपि लिने हो । यसका लागि बसाइ सराइको प्रमाणपत्र, स्थायी वसोवास देखिने जग्गा धनी प्रमाणपूर्जा संलग्न गरी सम्बन्धित वडाबाट सिफारिश भएको निवेदन पेश गर्नुपर्छ । निवेदन प्राप्त भएपछि कार्यालयले निवेदकको नागरिकताको प्रमाणिक अभिलेख मगाइ प्रतिलिपि जारी गर्दछ।

१०. बिवाह गरी यस जिल्लामा आएकी महिलाले कहाँबाट नागरिकताको प्रतिलिपि बनाउने ?

अन्यत्र जिल्लाबाटै नागरिकता प्रमाणपत्र लिएको तर हाल यस जिल्लाम विवाह गरी आएकी महिलाले चाहेमा यसै जिल्लाबाट नागरिकताको प्रतिलिपि लिन सक्दछ । यसका लागि निजले पतिको नाम समावेश गरी प्रतिलिपि लिनुपर्ने हुन्छ।

११. यस जिल्लामा कार्यरत कर्मचारी वा कर्मचारीका परिवारले यस जिल्लावाट नागरिकताको प्रतिलिपि लिन सक्दछन ?

यसै जिल्लामा कार्यरत कर्मचारी र कर्मचारीका परिवारले जुनसुकै जिल्लाबाट नागरिकता लिएको भएता पनि यसै जिल्लाबाट प्रतिलिपि प्राप्त गर्न सक्दछन । प्रतिलिपि माग गर्दा कार्यरत रहेको कार्यालयको सिफारिस आवश्यक पर्दछ।

१२. प्रतिलिपि बनाइसकेपछि पहिलाको नागरिकता भेटिएमा के गर्ने ?

प्रतिलिपि लिइसकेपछि पहिलाको नागरिकता भेटिएमा पनि पहिलाको नागरिकता प्रयोग गर्नु हुँदैन, त्यस्तो नागरिकता जिल्ला प्रशासन कार्यालयमा बुझाइदिनु पर्दछ।

धन्यवाद्।

नागरिकता सम्बन्धी प्रचलीत कानुन विपरीत नागरिकता लिएमा वा लिन उद्योग गर्ने वा मद्दत गर्ने व्यक्तिलाई हुने दण्ड सजाय सम्बन्धी व्यवस्थाको जानकारी :

झुठो विवरण दिई विदेशीले नागरिकता लिएमा

  • एक वर्ष देखि पाँच वर्ष सम्मकैद वा
  • पचास हजार रुपैयाँ देखि एक लाख रुपैयाँ सम्म जरिवाना वा
  • दुवै सजाय ।

ऐनको दफा २१ को उपदफा (१)

विदेशीलाई झुठो विवरणको आधारमा नागरिकता  दिलाउने कार्यमा सनाखत गरेमा वा सिफारिस गरेमा ।

  • छ महिना देखि तिन वर्ष सम्म कैद वा
  • पच्चीस हजार रुपैया देखि पचास हजार रुपैयाँ सम्म जरिवाना वा
  • दुवै सजाय ।

ऐनको दफा २१ को उपदफा (२)

झुठो वा किर्ते नागरिकताको प्रमाणपत्र खडा गरेमा वा सिफारिस गरेमा ।

  • एक बर्ष देखि पाँच बर्ष सम्म कैद वा
  • बीस हजार रुपैया देखी एक लाख रुपैयाँ सम्म जरिवाना वा
  • दुवै सजाय

ऐनको दफा २१ को उपदफा (३)

नागरिकताको विवरण आफुखुसी सच्याएमा

  • तीन महिना सम्म कैद वा
  • दस हजार रुपैया सम्म जरिवाना वा
  • दुवै सजाय ।

ऐनको दफा २१ को उपदफा (४)

नेपाली नागरिकले झुठो विवरण दिनागरिकता प्राप्त गरेमा वा सच्चाईको विवरण झुठो प्रमाणित भएमा ।

  • पन्ध्र हजार रुपैया सम्म जरिवाना ।

ऐनको दफा २१ को उपदफा (५)

ऐन तथा नियमावलिको बर्खिलाप कार्य गरेमा ।

  • पन्ध्र हजार रुपैया सम्म जरिवाना ।

ऐनको दफा २१ को उपदफा (५)

कर्मचारीले बदनियतापूर्वक नागरिकता दिएमा वा विवरण सच्याएमा ।

  • विभागीय कारबाही ।

ऐनको दफा २१ को उपदफा (६)

ऐन बमोजिमको कसूर गर्न उद्योग गर्न वा मद्दत गर्ने व्यक्तिलाई ।

  • मुख्य कसूरलाई हुने दण्ड सजायको आधा

ऐनको दफा २१ को उपदफा (७)

बंशज

 

विवाहित महिला

 

 बैबाहीक अंगिकृत

 

प्रतिलिपि

 

कैफियत

 

स्थानीय निकायबाट प्रमाणित अनुसूचि १ फाराम

 

स्थानीय निकाय बाट प्रमाणित अनुसूचि १ फाराम

 

स्थानीय निकायबाट प्रमाणित अनुसूचि ७ फाराम

 

स्थानीय निकायबाट प्रमाणित सिफारिस

 

 

 

बाबु वा आमा वा आफ्नो वंशतर्फ पर्ने तीन पुस्ताभित्रको नातेदारको नेपाली नागरिकताको प्रमाण पत्र

 

विवाह दर्ता प्रमाण, पति वा ससुराको नागरिकताको प्रमाण पत्र,  माइती पट्टीको आमा वा बाबु वा दाजु वा भाइको नागरिकता प्रतिलिपि

 

विवाह दर्ता प्रमाण पत्र, विदेशी नागरिकता त्याग्ने कारवाही चलाएको निस्सा, हुलाकको रसिद, त्याग गर्न निजले पेश गरेको प्रमाणित निवेदनको फोटोकापी, पतिको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, नागरिकता पाउने व्यक्तिको शपथ ग्रहण

 

हराएको नागरिकता प्रमाण पत्रको प्रतिलिपि

 

तीन पुस्ताभित्रको नातेदारको नागरिकताको प्रमाणपत्र पेश गरेको अवस्थामा उक्त नातेदारसंगको नाता खुल्ने नाता प्रमाणित पत्र

 

जन्मदर्ता प्रमाण पत्र, शैक्षिक योग्यताको प्रमाण पत्र

 

जन्मदर्ता प्रमाण पत्र, शैक्षिक योग्यताको प्रमाण पत्र

 

प्रहरी मचुल्का, जन्ममिति प्रमाणित हुने कागज र शैक्षिक योग्यताको प्रमाण पत्र

 

झुत्रो भएको हकमा सक्कलै नागरिकता समेत संलग्न राख्नु पर्ने छ ।

 

 

 

बाबु वा आमाको र छोराछोरीको ना.प्र.मा ठेगाना परिवर्तन गरि लिन चाहेमा बसाई सराईको प्रमाण पत्र

 

पति, सासू वा ससूरा वा जेठाजु वा देवरमध्ये कसैको सानखत

 

२ प्रति अटो साइजको फोटो

 

२ प्रति अटो साइजको फोटो

 

 

 

२ प्रति अटो साइजको फोटो

 

२ प्रति अटो साइजको फोटो

 

रु. १० को हुलाक टिकट

 

रु. १३ को हुलाक टिकट

 

 

 

रु. १० को हुलाक टिकट

 

रु. १० को हुलाक टिकट

 

 

 

 

 

 

 

. व्यक्तिगत घटना दर्ता के हो ? किन अनिवार्य दर्ता गराउनुपर्छ ?
व्यक्तिगत घटना दर्ता भन्नाले राज्यमा बसोबास गर्ने प्रत्येक व्यक्तिको जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद तथा बसाई सराई जस्ता व्यक्तिगत घटना स्थायी ठेगाना भएको वडा कार्यलयमा दर्ता गर्ने कार्य हो।

यस्ता घटना दर्ता गर्नु र गराउनु प्रत्येक व्यक्तिको नैसर्गिक अधिकार हो। यो व्यक्ति पहिचानको पहिलो आधार भएकाले नेपाल सरकारले अनिवार्य गरेको छ। यस्ता घटना घटेको ३५ दिनभित्र निःशूल्क रुपमा दर्ता गर्न सकिन्छ जस अनुरुप राज्यको कुल जनसंख्याको अद्यावधिक र जनसांख्यिक वितरणको अवस्था र तथ्याकंको जानकारी सही रुपामा प्राप्त गर्न सकिन्छ।

२. घटना दर्ताको सूचना दिनुपर्ने कर्तव्य रहेको व्यक्ति नभएको अवस्थामा कसलाई सूचक राख्ने ?
घटना दर्ता गर्दा  एकाघरका १८ वर्ष उमेर पुगेका नागरिकले जन्म, मृत्यु, बसाई सराईजस्ता घटनाको सूचकको रुपमा रहन सक्छ। विवाहमा पति र पत्नी दुवै  आवश्यक पर्दछ । सम्बन्ध विच्छेदको हकमा पति वा पत्नी मध्ये एक रहन सक्छन्।

यदि माथि उल्लेख भए बमोजिमका सूचक नभएमा प्रचलित कानुन बमोजिम संरक्षक वा माथवर वा दुवै समेत नभएमा सम्बन्धित वडाको बडाध्यक्ष सूचक भई घटना दर्ता गराउन सकिन्छ। 

३. व्यक्तिगत घटना दर्ताको अभिलेख नभएमा कसरी नक्कल दिन सकिन्छ ? 
व्यक्तिगत घटना दर्ताको अभिलेख वडा कार्यालयमा नभएको अवस्थामा सो घटना दर्ताको सूचना फाराम वा प्रमाणपत्रको प्रतिलिपि अन्यत्र कुनै निकायमा रहेमा सो को आधारमा अभिलेख तयार गर्न सकिन्छ वा नियमावलीको नियम २१ को उपनियम ४ बमोजिम प्रतिलिपि खडा गर्न सकिने व्यवस्था रहेको छ।

. सबै प्रकारका व्यक्तिगत घटना कहाँ र कहिले दर्ता गराउनु पर्दछ ?
व्यक्तिगत घटना व्यक्तिको स्थायी ठेगाना रहेको वडा कार्यालयमा दर्ता गराउनु पर्दछ वा घटना घटेको स्थानको स्थानीय पञ्जिकाधिकारीको कार्यालयमा ३५ दिनभित्र नि शूल्क रुपमा घटना दर्ता गराउन सकिन्छ। 

५. व्यक्तिगत घटना स्थानीय वडामा दर्ता गर्ने दायित्व कसको हुन्छ ?
सबै प्रकारका व्यक्तिगत घटना आवश्यक कागजपत्र तथा प्रमाणका आधारमा दर्ता गराउने दायित्व सम्बन्धित व्यक्ति र स्थानीय पञ्जिकाधिकारीको रहनेछ।  

 

 

. व्यक्तिगत घटना (दर्ता गर्ने) ऐन, २०३४ जारी हुनु भन्दा अघि घटेका घटना कसरी दर्ता गराउन सकिन्छ ?
घटना दर्ता गर्ने ऐन, २०३४ जारी हुनु भन्दा अघि घटेका घटना तथा सम्बन्धित जिल्लामा घटना दर्ता लागू हुनु भन्दा अघिको घटना दर्ता गरी प्रमाण पत्र जारी गर्न मिल्दैन। यस्ता घटनाको हकमा व्यक्तिले सम्बन्धित वडामा गई वडाध्यक्षबाट उक्त घटनाको प्रमाणित कागजात तयार गराउन सकिन्छ। 

. व्यक्तिगत घटना दर्ता गर्न किन नागरिकता आवश्यक पर्दछ ?

सबै प्रकारका व्यक्तिगत घटना दर्ता गर्न, सूचक आधिकारिक र जिम्मेवार हुनुपर्ने भएकाले सूचकको  स्पष्ट परिचय, उमेर र प्रमाणका रुपमा नागरिकता आवश्यक पर्ने हुन्छ।

. व्यक्तिगत घटना दर्ताको प्रतिलिपि माग गरेमा कसरी प्रदान गर्ने ?
घटनासगँ सम्बन्धित व्यक्तिले निवेदन दिई व्यक्तिगत घटनाको प्रतिलिप माग गरेमा वडा कार्यालयमा रहेको अभिलेखको आधारमा रुजु गरी स्थानीय पञ्जीकाधिकारीले प्रतिलिपि जारी गर्न सक्छ ।

. व्यक्तिगत घटना दर्ता गराउन स्थानीय तहको वडाको दायित्व के रहन्छ ?
सबै प्रकारका व्यक्तिगत घटना दर्ता गराउँदा व्यक्तिलाई सूचना फाराम भर्न लगाउने, आवश्यक कागजपत्र माग गरी रुजु गर्ने, नियमानुसार घटना दर्ता गर्ने, अभिलेख राख्ने तथा प्रमाणपत्र जारी गर्ने दायित्व स्थानीय तहको हुन्छ। घटना दर्ताको महत्व, प्रक्रिया र विलम्ब शुल्कबारे नागरिकलाई जानकारी गराउने दायित्व समेत स्थानीय तहको हुनेछ। 

१०. व्यक्तिगत घटना दर्ता गर्ने व्यक्तिको कर्तव्य के रहन्छ ?
व्यक्तिगत घटना दर्ता गर्ने व्यक्ति वा सूचकले सूचना फाराममा दिईएको विवरण सही रुपमा भर्ने, आवश्यक कागजपत्रको सक्कल तथा प्रतिलिपि बुझाउने, बिलम्ब शूल्कबाट बच्न ३५ दिनभित्रै घटना दर्ता गराउने र प्राप्त प्रमाणपत्रमा भएका विवरण सही रुपमा जाचँ गरेर मात्र प्रमाणपत्र जस्ता कर्तव्यमा पर्दछन्। 

११. झुटा विवरण पेश गरी व्यक्तिगत घटना दर्ता गरेमा के गर्नुपर्छ ?
कुनै पनि व्यक्तिले झुटा विवरण पेश गरी दर्ताको प्रमाणपत्र लिएको पाईएमा वा प्रमाणित भएमा स्थानीय अधिकारी (प्रमुख जिल्ला अधिकारी) बाट ऐनको दफा २४ बमोजिम त्यस्तो घटना दर्ताको प्रमाणपत्र तत्काल रद्द  हुन्छ। त्यसको जानकारी सम्बन्धित वडालाई दिनुपर्छ। झुटा विवरण दिने सूचक र सिफारिस गर्ने व्यक्तिलाई कानून बमोजिम कारवाहीका लागि सम्बन्धित निकायमा सिफारिस गर्नुपर्दछ।

१२. जन्म दर्ता गर्न आवश्यक कागजपत्रहरु के के हुन् ?
कुनैपनि व्यक्तिको जन्मदर्ता गर्न देहाय बमोजिमका कागजपत्र आवश्यक पर्दछः

  • आमा वा बाबुको नागरिकताको प्रतिलिपि,
  • स्वास्थ्य संस्थामा जन्म भएको भए उक्त संस्थाबाट उपलब्ध गराएको जन्म प्रमाणित कागज, वा खोप कार्ड
  • घरमा जन्म भएको हकमा खोप लगाएको कार्ड।
  • यदि बाबु वा आमा बेपत्ता भएका वा ठेगाना थाहा नभएको भए सो सम्बन्धी अदालतको आदेश, मानव अधिकार आयोगको प्रतिवेदन वा प्रहरी प्रतिवेदन आवश्यक पर्दछ ।

१३. जन्मदर्ताको सूचक को को हुन्छन् ?
बच्चाको जन्म दर्ता गर्दा आमा वा बाबु वा परिवारको १८ वर्ष उमेर पुगेको सदस्य सूचक बन्न सक्नेछन् । 

१४. बच्चा जन्मिएको कति दिनभित्र जन्मा दर्ता गर्नुपर्दछ ?
बच्चा जन्मिएको ३५ दिनभित्रै घटना दर्ता गराउनु पर्दछ  । घटना भएको ३५ दिनपछि नियमानुसार बिलम्ब शूल्क लाग्नेछ 

१५.आमा विदेशी भएको हकमा जन्म दर्ता कसरी गर्ने ?

बच्चाको आमा विदेशी भएमा विदेशी भएको प्रमाणसहित उसको बुबाको नेपाली नागरिकताको आधारमा बाबु सूचक रहेर जन्म दर्ता गराउन सकिन्छ । यदि आमाको विवाह दर्ता भएको वा नागरिकता भएमा सोही अनुरुप सूचक रहेर दर्ता गराउन प्रावधान समेत रहेको छ ।  

१६. बच्चाको बुबाको ठेगाना पत्ता नलागेमा जन्म दर्ता कसरी गर्ने ?
बच्चाको बाबुको ठेगाना पत्ता नलागेमा र अत्तोपत्तो नभएमा, वेपत्ता भएको भन्ने आधिकारिक निकायबाट जारी भएको प्रमाणका आधारमा आमाले आफ्नो माईती तर्फको थर ठेगाना राखेर जन्म दर्ता गराउन सकिन्छ । 

१७. बाल विवाह वा बहुविवाह बाट बच्चा जन्मिएमा जन्म दर्ता कसरी गर्ने ?
मुलुकी देवानी संहिता,२०७४ बमोजिम वहु विवाह दर्ता नहुने प्रावधान रहेको छ। वालविवाहको हकमा २० वर्ष पुगेपछि मात्रै, उमेर पुगेको मितिमा विवाह दर्ता गर्न सकिन्छ। तर बच्चा जन्मिसकेको अवस्थामा आमा बाबु दुवैको उपस्थितिमा बाबु सूचक भएर जन्म दर्ता गराउन सकिन्छ। 

१८. अनाथ वा असाह्य बालबालिकाको जन्म दर्ता कसरी गर्ने ?
अनाथ तथा असहायको हकमा सम्बन्धित व्यक्तिले प्रचलित कानुन बमोजिम संरक्षक वा माथवर वा त्यस्तो व्यक्ति नभएमा स्थानीय तहको वडाध्यक्ष सूचक बनेर जन्म दर्ता गर्न सकिन्छ। 

१९. धर्मपुत्र वा धर्मपुत्रीको जन्म दर्ता कसरी गर्ने ?
पति वा पत्नी वा दुवैको तर्फबाट धर्मपुत्र वा धर्मपुत्री राखिएकोमा दुवै जना सूचक रही जन्म दर्ता गराउन सकिन्छ । 

२०. विदेशमा जन्मिएको बच्चाको जन्म दर्ता कसरी गराउने ? 
विदेशमा बच्चा जन्मिएमा सम्बन्धित देशमा रहेको नेपाली दुतावासबाट उक्त बच्चा जन्मिएको प्रमाणपत्र प्रमाणित गरी नेपाल आएको ३५ दिनभित्र आफ्नो स्थायी ठेगाना रहेको स्थानीय वडामा गई दर्ता गराउन सकिन्छ । 

२१. कारागारमा जन्मिएको बच्चाको जन्मदर्ता कसरी गर्ने र कस्ता कागजात आवश्यक पर्दछ?

कारागारमा बच्चा जन्मिएमा सम्बन्धित कारागारको प्रमुखले सूचना फाराम प्रमाणित गरी सम्बन्धित स्थानीय पञ्जिकाधिकारी कार्यालयमा पठाई सो वडा कार्यालयबाट जन्म दर्ता गराउन सकिन्छ। 

२२. विवाह दर्ता भनेको के हो ?
विवाह दर्ता भन्नाले प्रचलित कानुन बमोजिम २० वर्ष उमेर पूरा भई वैवाहिक सम्बन्ध कायम भएका पुरुष र महिलाले स्थानीय पञ्जिकाधिकारीको कार्यालयमा श्रीमान् श्रीमतीको रुपमा स्वीकार गरी दर्ता गरिएको घटना दर्तालाई बुझिन्छ।

२३. विवाह दर्ता गर्न आवश्यक कागजपत्रहरु के के हुन् ?

स्थानीय वडामा विवाह दर्ता गराउँदा देहाए बमोजिमका कागजपत्र आवश्यक पर्दछन्:

  • दुलाहा दुलहीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि वा राष्ट्रियता खुल्ने कागज ।
  • दुलाहा वा दुलही दुवैको हालै खिचेको अटो साईजको फोटो,
  • यदि अदालतबाट नाता कायम भएको अवस्थामा वा दुलाहा वा दुलहीमध्ये कुनै एक नभएमा अदालतबाट भएको नाता कायमको कागज पेश गर्नुपर्दछ।  

२४. विवाह दर्ताको सूचक को को हुन्छन् ?
विवाह दर्ता गर्न पति र पत्नी दुवै सूचक बन्न सक्दछन्। यदि दुई मध्ये कुनै एक उपस्थित हुन नसकेमा अनुपस्थित हुनेले अधिकृत वारेसनामा लिई दर्ता गराउन सकिनेछ। 

२५. विवाह दर्ता नगरी पति वा पत्नी वेपत्ता भएमा कसरी विवाह दर्ता गर्ने ?
विवाह दर्ता नभई पति वा पत्नी बेपत्ता भएमा अदालतबाट पति पत्नी नाता कायम भएको निर्णयका आधारमा विवाह दर्ता गराउन सकिन्छ।  

२६. पति वा पत्नीले विवाह दर्ता गर्न ईन्कार गरेमा कसरी दर्ता गर्ने ?
कसैले विवाह दर्ता गर्न ईन्कार गरेमा, पति वा पत्नी मध्ये पीडितले जिल्ला अदालतमा उपस्थित भई पति वा पत्नीको नाता कायम गरी पाँऊ भनि निवेदन दिनुपर्छ। सो पश्चात् अदालतबाट हुने उक्त निर्णयका आधारमा विवाह दर्ता गर्न सकिन्छ। 

२७. विवाह दर्ता गर्नु पूर्व पति वा पत्नीको मृत्यु भएमा के गर्ने ?
विवाह दर्ता गर्नु पूर्व पति वा पत्नीको मृत्यु भएमा विवाह प्रमाणित गरी पति पत्नीको नाता कायम गराउनु पर्दछ। 

२८. बाल विवाह वा बहु विवाह दर्ता गर्न किन हुदैन ?
मुलुकी देवानी संहिता, २०७४ अनुसार बालविवाह र बहुविवाह कानुनतः दर्ता नहुने गरी र बालविवाहको हकमा दुवै केटा केटीको उमेर २० वर्ष पूरा गरेर मञ्जुर भई आएमा दर्ता गर्न सकिन्छ।  

२९. नेपाली नागरिकले विदेशी नागरिकसँग विवाह गरेमा कसरी विवाह दर्ता गर्ने ?

नेपाली नागरिकले विदेशी नागरिकसँग विवाह गरेको हकमा अदालतबाट दर्ता विवाह गरे पश्चात दुवै स्थानीय पञ्जिकाधिकारीको कार्यालयमा गएर विवाह  दर्ता गर्न सकिनेछ।

विदेशी नागरिकको हकमा सम्बन्धित देशको नेपालस्थित दुतावास वा सो व्यक्तिको देशको नियोगले सिफारिस गरेको कागजात लिएर जानुपर्दछ । 

३०. बसाई सराई दर्ता गर्न आवश्यक कागजपत्रहरु के के हुन् ?

बसाई सराई गरेर जाँदा वा आँउदा आवश्यक पर्ने कागजात देहायनुसार पर्दछन्:

बसाईसराई गरी जाँदाः

  • बसाई सराई गरेर जाँदा सूचकको नागरिकताको प्रमाणपत्र,
  • परिवारको सबै सदस्यको नागरिकता भएमा र
  • लगत हस्तान्तरण फाराम आवश्यक पर्दछ।

 बसाईसराई गरी आँउदाः

  • बसाई सराई गरेर आँउदा घरमुली वा सूचकको नागरिकता
  • लगत हस्तान्तरण फाराम 

३१. बसाई सराई दर्र्ताको सूचक को को हुन्छन् ?
बसाई सराई गरेर जाँदा वा आँउदा परिवारको सदस्यको मुख्य व्यक्ति घरमुली वा नभएमा परिवारको १८ वर्ष उमेर पुगेको सदस्य सूचकको रुपमा रहन सक्दछन्। यस्ता सूचकले सम्बन्धित वडामा गई आफ्नो विवरण सही रुपमा दिनुपर्दछ। 

३२. बसाई सराई दर्ता नगरी बेवास्ता गरेमा के हुन्छ ?
बसाई सराई दर्ता नगरी गएमा वा आएमा, नागरिक बसोबास गर्ने स्थानीय तहबाट प्र्राप्त गने सेवा लिने प्रदान सेवा सुविधाबाट बञ्चित हुन सकिन्छ। 

३३. परिवारमा १८ वर्ष उमेर पुगेको एक जना सदस्यको मात्र बसाई सराई गर्न मिल्छ वा मिल्दैन ?
परिवारको कुनै एक सदस्यले मात्र बसाई सराई गर्न मिल्छ तर सो व्यक्तिसगँ सम्बन्धी सबै घटना दर्ता अनिवार्य दर्ता भएको हुनुपर्नेछ र स्वयं व्यक्ति सूचक हुनुपर्छ। 

 

३४. बसाई सराई गरेको कति समयमा दर्ता गराउनु पर्दछ ?
बसाई सराई गरी गएको र आएको जुन अवस्थामा पनि सम्बन्धित वडा कार्यलयमा ३५ दिन भित्र निःशूल्क दर्ता गराउनु पर्दछ र त्यसपछिको समयमा दर्ता गराए विलम्ब शुल्क तिर्नुपर्दछ। 

सम्बन्ध विच्छेद

३५. सम्बन्ध विच्छेद दर्ता गर्न के कस्ता कागजपत्र आवश्यक पर्दछन् ?

सम्बन्ध विच्छेद दर्ता गराउन  देहाए बमोजिमका कागजपत्र आवश्यक पर्दछन्:

  • सूचकको सहिछाप सहितको सूचना फाराम,
  • नागरिकता प्रमाणपत्रको प्रतिलिपि,
  • अदालतबाट सम्बन्धविच्छेद भएको फैसलाको प्रतिलिपि,
  • विदेशस्थित अदालतबाट भएको फैसलाको हकमा सम्बन्धित कुटनीतिक नियोगबाट प्रमाणित भएका अंग्रेजी भाषामा गरेको अनुवादलाई नोटरी पब्लिक वा कन्सुलरबाट प्रमाणिकरण गरेको सक्कल प्रति।

३६. सम्बन्ध विच्छेद दर्ताको सूचक को को हुन्छन् ?
सम्बन्ध बिच्छेदको सूचकका रुपमा  पति वा पत्नि मध्ये कुनै एक रहन सक्दछन्। 

३७. विदेशमा बस्ने नेपाली नागरिकको सम्बन्ध विच्छेद भएमा नेपालमा दर्ता गराउनु पर्छ वा पर्दैन ?
विदेशमा नेपाली नागरिकको सम्बन्ध बिच्छेद भएमा सम्बन्धित राष्ट्रको अदालतबाट सम्बन्ध बिच्छेद भएको प्रमाण पेश गरी दर्ता गर्न सकिन्छ। 

३८. सम्बन्ध विच्छेद गरी आमासँग रहेका बच्चाको जन्म दर्ता गर्दा आमाको स्थायी ठेगाना राख्न मिल्छ या मिल्दैन ?
सम्बन्ध विच्छेद भई आमासँग रहेको बच्चाको जन्म दर्ता गर्न मिल्छ तर त्यसका निम्ति बाबुको स्थायी ठेगानामा जन्म दर्ता भए नभएको एकिन गर्नुपर्ने हुन्छ। 

३८. पत्नी रहेको स्थायी ठेगानामा सम्बन्ध दर्ता गर्न मिल्छ वा  मिल्दैन ? 

सम्बन्ध विच्छेद पश्चात पत्नी रहेको स्थायी ठेगानामा दर्ता गर्न मिल्दछ । यस अवस्थामा पति तर्फको स्थायी ठेगानामा रहेको पञ्जिकाधिकारी कार्यालयमा  सम्बन्ध विच्छेद दर्ता भए नभएको एकिन गर्नुपर्दछ । 

३९. मृत्यु दर्ता गर्न आवश्यक कागजपत्रहरु के के हुन् ?

कुनैपनि व्यक्तिको मृत्यु दर्ता गर्न देहाए बमोजिमको कागजपत्र आवश्यक पर्दछन्:

  • मृतकको नागरिकताको प्रमाणपत्र (नागरिकता बनेको भएमा) वा जन्मदर्ताको प्रतिलिपि
  • सूचकको सहिछाप सहितको सूचना फाराम,
  • सूचकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
  • मृतक विदेशी भएमा सूचक र मृतकको राहदानी, प्रवेशाज्ञा तथा निज त्यस वडामा बसोबास गरिरहेको प्रमाण र सम्बन्धित मुलुकको नेपालस्थित कुटनीतिक नियोगको सिफारिस,
  • स्वास्थ्य संस्थामा मृत्यु भएमा त्यस संस्थाको मृत्यु प्रतिवेदन वा प्रमाण आवश्यक पर्दछ।  

४०. मृत्यु दर्ताको सूचक को हुन्छन् ?

मृत्यु दर्ताको सूचकका रुपमा मृतकका बाबु वा आमा, पति वा पत्नी वा छोरा वा छोरी रहन सक्दछन्। उल्लेखित सूचक नभएको प्रमाणित भएमा परिवारको १८ वर्ष उमेर पुगेको परिवारको अन्य व्यक्ति सूचक रहन सक्छन्।

४१. मृत्यु दर्ता किन गर्नुपर्दछ ?
घटना दर्ता अद्यावधिक गराउन, व्यक्तिको मृत्यु भएको प्रमाण कानुन र प्रशासनिक प्रयोजनका निम्ति पेश गर्न, चल अचल सम्पत्तिको हस्तान्तरण वा अधिकार प्रत्यायोजन गर्न लगायतका निम्ति  मृत्यु दर्ता गराउनु आवश्यक रहन्छ।

सामाजिक सुरक्षा भत्तामा लगत कट्टा गर्न वा विधवा प्रमाणित हुन तथा स्थानीय निकायबाट अन्य सेवा सुविधा लिन मृत्यु दर्ता गर्नुपर्दछ ।

४२. विदेशमा मृत्यु भएको नेपाली नागरिकको मृत्यु दर्ता कसरी गर्ने ?
विदेशमा कोही नागरिकको मृत्यु भएमा सम्बन्धित मुलुकस्थित नेपाली नियोगबाट प्रमाणित कागजपत्र पेश गरे पश्चात दर्ता गर्न सकिन्छ। सर्जमिन वा आधिकारिक कागजात सहितको प्रमाणको आधारमा सूचकले पेश गरेमा दर्ता गर्न सकिने प्रावधान रहेको छ।

४३. नेपालमा मृत्यु भएको  विदेशी नागरिकको मृत्यु दर्ता गराउन मिल्छ वा मिल्दैन ?
विदेशी नागरिकको नेपालमा मृत्यु भएमा दर्ता गर्न मिल्दछ। यसका निम्ति  देहाएका कागजातको आवश्यकता पर्दछ:

  • मृतकको राष्ट्रियता खुल्ने कागजात,
  • प्रहरीको रिपोर्ट,
  • अस्पतालमा मृत्यु भए सो को रिपोर्ट, 
  • वा नेपालस्थित सम्बन्धित विदेशी नियोगको प्रमाणित कागजात र सिफारिस पेश गर्नुपर्दछ। 

४४. बेपत्ता भएका नागरिकको मृत्यु दर्ता गर्न हुन्छ वा हुदैन?

कोही नागरिक बेपत्ता भएमा मुलुकी देवानी संहिता, २०७४ को दफा ४० बमोजिमको न्यायिक मृत्यु घोषणाको प्रमाण पेश गरेपछि मृत्यु दर्ता गर्न सकिन्छ। 


Last Updated : 2083-04-05 08:29:48

© All Rights Reserved to District Administration Office, Baitadi